राष्ट्रिय सभा सदस्यका उम्मेदवार रिजाल को हुन?
- विश्वास खबर / आइतबार, पौष २९, २०८० १९:२७
- विश्वास खबर / आइतबार, पौष २९, २०८० १९:२७
बिश्वास खबर
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ चरिकोटका घनश्याम रिजालले नेकपा एकीकृत समाजवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दिएका छन।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नेता रीजाललाई उम्मेदवारका रुपमा छनौट भएपछि उनले राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दर्ता गरेका छन।
नेकपा एकीकृत समाजवादीले रिजाललाई उम्मेदवार बनाउने निर्णय गरेसंगै रिजाल आगामी ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य हुने निश्चित जस्तै भएको छ।
दोलखा जिल्लामा लोकप्रिय छवि बनाएका नेता रिजाल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटिका निवर्तमान उपाध्यक्ष रहेका थिए। २०३७ सालमा बुबा धन बहादुर रिजाल र आमा रुद्रमायाको जेष्ठ सुपुत्रका रूपमा जन्मेका रिजाल हाल पार्टीका केन्द्रिय प्रतिनिधि परिषद सदस्य हुन्। उनि पार्टी निकट दलित मुक्ति संगठनका केन्द्रिय महासचिव र सुनचादी कला व्यवसायी संघका केन्द्रीय अध्यक्षको समेत जिम्मेवारीमा छन।
रिजाल नेकपा एमालेबाट राजनीति यात्रा प्रारम्भ गरि सक्रिय राजनीतिमा थिए ।२०४९ सालदेखि नेकपा एमालेको सक्रिय राजिनीतिमा लागेका उनि २०७७ एमाले बिभाजन पछि माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा सक्रिय थिए । २०७९ सालको निर्वाचनमा दोलखा प्रदेश ‘ख’ मा प्रत्येक्ष तर्फ उम्मेदवार दावी गरेका रिजाल आफ्नो पार्टीलाई उक्त क्षेत्र नपरेकाले पछि हटेका थिए।
रिजाल विभिन्न सामाजिक संघ संस्थामा पनि त्यतिकै सक्रिय रहेका व्यक्ति हुन। दोलखा उद्योग वाणिज्य संघका निर्वाचित कार्यसमिति सदस्य, गौरीशंकर सामुदायिक पुस्तकालयका संचालक समिति सदस्य, कालिञ्चोक सामुदायिक एफएमको संस्थापक उपाध्यक्ष, गौरीशंकर क्याम्पस चरिकोटको ब्यबस्थापन समितीमा लगातार तेश्रो कार्यकालको लागि संचालक समिति सदस्य लगायत विभिन्न जिम्मेवारी बहन गरेका छन।
राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० साल माघ ११ गते हुँदै छ। राष्ट्रिय सभालाई स्थायी सदनको रुपमा लिइने भएकाले प्रत्येक दुई, दुई वर्षमा चुनाव गरेर नयाँ सदस्य निर्वाचित भइरहने व्यवस्था छ ।नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि राष्ट्रिय सभाको चुनाव पहिलो पटक २०७४ सालमा भएको थियो । पहिलो पटक निर्वाचित भएकाहरुलाई गोलाप्रथाद्वारा दुई वर्ष, चार वर्ष र ६ वर्ष कार्यकाल तय गरिएको थियो । त्यसअनुसार दुई र चार वर्षे कार्यकाल रहेकाहरु विदा भएर नयाँ निर्वाचन संपन्न भईसकेको छ भने यसपटक ६ वर्षे कार्यकालको गोला तानेकाहरु फागुन २० गतेबाट बिदा हुदै छन। कार्यकाल सम्पन्न हुन लागेका २० जना सांसद ०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेकाहरू हुन।